जाजरकोट पहिरो: ४ जनाको ज्यान गयो, ८ जना बेपत्ता

 असार २६, २०७७

काठमाडौ, २६ असार ।

अविरल बर्षातका कारण जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की गाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट– ४ का ५२ बर्षका गोपाल सार्की , ११ वर्षका अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षका डिल्ली सार्की र १८ वर्षका विरेन्द्र सार्कीको शव फेला परेको हो । उनीहरु दुवैजना गाउँमा पाहुना बस्न आएका थिए । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो । यस्तै, म्याग्दीमा पहिरोमा वेपत्ता भएकाको खोजीका लागि सेनाको एउटा हेलिकोप्टर आईपुगेको छ । पहिरोमा हराईरहेका ३२ जनाको उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी पुग्न नसकेपछि जिल्ला प्रसासन कार्यालय म्याग्दीले गृह मन्त्रालय बाट हेलिकोप्टर मगाएको थियो ।

उद्धारका लागि ३ वटा हेलिकोप्टर माग गरेकोमा एउटा हेलिकोप्टर आईपुगेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । म्याग्दीखोलाको बेलिव्रिज भत्किएको र दुखुखोला बढेकाले जिल्लाबाट सुरक्षाकर्मी मालिका र धौलागिरी गाउँपालिकामा पुग्न सकेको छैन ।

यस्तै,लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । यस्तै,, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तीनका २८ वर्षका सीता परियार र उनका ६ वर्षका छोरा हाविल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया