घर भत्कीदा डोटीमा एकै परिवारका चारजनाको मृत्यु

तुलसीपुर,२७ साउन ।
डोटीको बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। अरु पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककनीका नुगे लुहारको ढुंगा माटोले बनेको तीन तले घर भत्किँदा चारजनाको ज्यान गएको डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा नुगेकी ३५ वर्षकी श्रीमती विष्णा लुहार, उनका ११ वर्षका छोरा पारस लुहार तथा छोरीहरु सात वर्षकी निरु लुहार र चार वर्षकी जेनिसा लुहार रहेको डिएसपी मल्लले जानकारी दिएका छन् । घाइते हुनेमा नुगेसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारका लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।
लगातार वर्षा भएको र ढुंगा–माटोको गारो युक्त पुरानो घर रातिमा भत्किएकाले क्षति ठूलो भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सांकेतीक तस्वीर
तपाईंको प्रतिक्रिया