दिदिघर संस्थाले बालगृह सन्चालन गर्ने

 पुष १७, २०७७

तुलसीपुर ।

तुलसीपुर ६ डुम्रीगाउँमा रहेको दिदिघर संस्थामा बालगृह सन्चालन गर्ने तयारी भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा अल्पकालिन बालगृह सन्चालन गर्ने तयारी बारेमा आज तुलसीपुरमा छलफल कार्यक्रम गरिएको छ । संस्थाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा आयोजना गरीएको छलफल कार्यक्रममा अल्पकालिन बालगृहको तत्काल उद्घाटन गर्ने तयारी गरिएको छ ।

विशेषगरी आपतकालिन एवं जोखिम अवस्थामा परेका बालबालिकाको संरक्षणका लागी यो बालगृह सन्चालन गर्न लागीएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताएकी छिन् । उनका अनुसार आपतविपतमा परेका १८ वर्ष मुनिका जुनसुकै बालबालिकालाई ३० दिन देखी ४५ दिन सम्म बालगृहमा राख्न सकिनेछ । यो विषयमा बालबालिका ऐन २०७५ अन्र्तगत तुलसीपुरमा बाल अधिकार समिति गठन भई कार्यविधि तयार भएको छ ।

सोहि अनुसार जिल्लास्तर एवं जिल्ला बाहिरबाट आउने श्रमीक तथा पिडित बालबालिकालाई केहि दिन त्यहा बस्ने बाताबरण बनाउन लागीएको हो । यसका लागी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख बजेट विनियोजन गरेको उनको भनाई छ । संस्थाकी अध्यक्ष स्यानी चौधरीले समस्या र अप्ठ्योरोमा परेका जुनसुकै बालबालिकाहरुलाई सक्दो सहयोग गर्ने बताएकी छिन् ।

तपाईंको प्रतिक्रिया