भारतबाट फर्किन थाले नेपाली

 चैत ११, २०७७

तुलसीपुर ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै रोजगारीका लागि भारत गएका नेपाली फर्किन थालेका छन् । केही दिनदेखि सीमा नाकामा स्वदेश फर्किने मजदुरको लर्को लागेको छ । केही दिनदेखि भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । मुम्बई, दिल्ली, पन्जाबलगायतका शहरमा संक्रमण फैलिँदै गएको छ।

राजस्थानका केही शहरमा रात्रिकालीन कर्फ्यू लाग्न थालेको छ । जसले गर्दा मजदुरीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका हुन् । पश्चिम नेपालका सीमा नाकामा स्वदेश फर्किनेको घुइचो लागेको छ । बुधबार मात्रै कैलाली र कञ्चनपुरको सीमा नाका गौरीफन्टाबाट सयौँ नेपाली आएका छन् । त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपाली भित्रिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बताए ।

दुवै नाकाबाट स्वदेश फर्किनेहरुको दुई सातादेखि प्रहरीले तथ्यांक राख्न थालेको छ। दुई नाकाबाट गत १० दिनमा सात हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको उनले बताए । भारतबाट फर्किनेको घुइचो लाग्न थालेपछि सतर्कता अपनाउन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पत्राचार गरेको छ ।

तपाईंको प्रतिक्रिया