अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

 चैत १८, २०७७

काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले अस्पताल र ल्याबलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

बुधबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले देशभरका अस्पताल र ल्याबलाई तयारी अवस्था रहन निर्देशन दिएको हो। आईसीएसको बैठकले कोरोना संक्रमितको संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

त्यसका लागि तयारी अवस्थामा राख्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ। यसअघि भारतबाट आउनेहरुलाई १० दिन क्वारेन्टिनमा राख्न परिपत्र गरेको थियो।

अस्पतालसँगै देशभरका सरकारी र निजी ल्याबलाई पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सबै ल्याबलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

यसअघि देशभर सरकारी र निजी गरी ८४ ल्याबमा कोरोना परीक्षण भएको थियो। फेरि पनि ति सबै ल्याबमा कोरोना परीक्षण गर्ने तयारी गर्नका लागि निर्देशन दिएको हो।

तपाईंको प्रतिक्रिया