घोडे जात्रा पर्व मनाइँदै

 चैत २९, २०७७

काठमाडौं ।

उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ । टुँडिखेलमा पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकाहरुलाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुती छ ।

घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ । लितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

तपाईंको प्रतिक्रिया