भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै

काठमाडौं ।
छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।
गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।
तपाईंको प्रतिक्रिया