भारतसँगका अधिकांश नाका बन्द गरिने

 बैशाख १७, २०७८


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतसँगका अधिकांश नाका बन्द गरिने भएका छन् भने १३ नाका मात्रै खुल्ला रहनेछन्। शुक्रबार सिंहदरबारमा बसेको कोडिभ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सीमा नाकाका विषयमा निर्णय गरेको हो। भारतसँगका १३ नाका मात्रै खुल्ला राख्ने निर्णय भएको एक सदस्इले बताए।

उनका अनुसार, खुल्ला रहने नाकामा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, कोलुघाट, गौरीफन्टा, गड्डाचौकी र झुलाघाट रहेका छन्। यी नाकामा होल्डिङ सेन्टर बनाइने भएको छ।

यी नाकाबाट आउने नेपाली नागरिकलाई होल्डिङ सेन्टरमा राखिनेछ। त्यहाँ कोरोना परीक्षण गरिनेछ। कोरोना देखिएमा आइसोलेसनमा राखिनेछ भने कोरोना नदेखिएकालाई घर पठाइनेछ। कोरोना संक्रमण बढ्न थालेपछि नाकामा कडाइ गर्ने निर्णय गरिएको सीसीएमसीका अर्का सदस्यले बताए। उनका अनुसार, भारतसँग रहेका ३५ मध्ये २२ नाका भने बन्द गरिनेछ।

भारतबाट आउने अन्य साना नाकामा पनि कडाइ गरिनेछ। तोकिएका १३ नाकाबाट मात्रै आउने आग्रह गरिने भएको छ।यससँगै सरकारी कार्यालय सञ्चालनमा पनि नयाँ मापदण्ड निर्धारण गरिएको छ। एक चौथाइ कर्मचारीमा मात्रै आउने गरी कार्यालय सञ्चालन गर्नुपर्नेछ।

त्यस्तै, कोरोना संक्रमित बढ्न थालेकाले निजी अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय भएको छ। सरकारी अस्पताल भरिन थालेकाले निजी अस्पतालमा पनि कोरोना उपचार गर्ने व्यवस्था गर्न लागिएको हो।

सीसीएमसीले गरेका निर्णय मन्त्रिपरिषद्मा पठाइनेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछन्।

तपाईंको प्रतिक्रिया