प्रतिनिधिसभाको विशेष अधिवेशन अाज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुँदै छ । तर, मतदानमा २६ कोरोना संक्रमित सांसदलाई समेत सहभागी गराउनुपर्ने अवस्था रहेकाले यसपटकको अधिवेशन सञ्चालनको विधि नै बदलिएको छ ।
आइतबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने सहमति गरेको थियो । त्यसका लागि संसद् सचिवालय, सरकार र सम्बन्धित राजनीतिक दलको समन्वयमा उनीहरूलाई मतदानमा सहभागी गराउन सबै दल सहमत भएका थिए । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोरोना संक्रमित सांसदको मताधिकारलाई संरक्षण गर्ने सहमति कार्यव्यवस्थाले गरेको बताए । उनका अनुसार सोमबार नै मतदान गरेर अधिवेशन अन्त्य गर्ने तयारी छ ।
संसद् सचिवालयले कोरोना संक्रमितका लागि मतदान गर्न विशेष तयारी गरेको छ । संसद् भवनको मुख्य सभाहलको छेउछाउमा भएका कोठामध्ये कुनै एकमा संक्रमित सांसदलाई मतदानको व्यवस्था गर्ने तयारी छ । यसका लागि भवनमा भएका कोठामध्ये सबैभन्दा ठूलो, फराकिलो र उपयुक्त कोठा छानिनेछ । उक्त कोठामा पर्याप्त मास्क, स्यानिटाइजरको व्यवस्था गरिनेछ । सांसदको सहयोगका लागि सचिवालयका कर्मचारी खटिनेछन् । त्यहाँ खटिने कर्मचारीका लागि सचिवालयले पिपिई, मास्क, फेससिल्ड, स्यानिटाइजर र पन्जालगायत सुरक्षा मापदण्डका सबै साधन उपलब्ध गराउनेछ ।
संक्रमित सांसदका लागि हाजिरी रजिस्टरसमेत बेग्लै हुनेछ । उनीहरू मूल सभाहलतिर जान पाउने छैनन् । विशेष व्यवस्था गरिएको हलमा उनीहरूले मत दिनेछन् । ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्नँ’ भन्न सक्ने व्यवस्थासहितको मतदान हुनेछ ।
तपाईंको प्रतिक्रिया