विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

 जेठ १०, २०७८

काठमाण्डौ ।

विपक्षी गठबन्धनले आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी गरेका हुन् । हिजो नै रिट लिएर सर्वोच्च जाने भनिए पनि तयारी नपुगेकाले आज मुद्दा दायर गर्न लागिएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्चमा मुद्दा दायर गर्न लागेका हुन् । रिट निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग दाबीसमेत गरिने नेताहरुको भनाइ छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ भन्दा बढी सांसदको हस्ताक्षरसहित आफूहरु सर्वोच्च जान लागेको नेताहरुले बताएका छन् । कानुन व्यवसायीको सहयोगमा तयार पारिएको रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैधानिक रहेको उल्लेख गरिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश माग गरिएको पनि नेताहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया