खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने

 जेठ १७, २०७८

काठमाडौं ।

चीनले अनुदानमा दिएको १० लाख डोज खोप मध्ये ८ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदै छ। आज राति ११ बजे जाने विमान भोलि नेपाल आइपुग्ने छ ।चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप मंगलबारसम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो खोप लिन नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट भ्याक्सिन लिएर मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ ।

सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया