निषेधाज्ञाको एक महिना : संक्रमण र मृत्युदर घट्दै
काठमाडौं ।
निषेधाज्ञा लागू गरिएको एक महिनामा कोरोना संक्रमण र मृत्युदर घट्न थालेको संकेत देखिएको छ । यद्यपि, संक्रमणदर ३४ प्रतिशतभन्दा माथि नै भएकाले जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो । त्यसको एक साताभित्र अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार जेठको सुरुवातदेखि संक्रमणमा सामान्य कमी आएको छ भने निको हुनेको संख्या बढ्न थालेको छ ।
पछिल्लो २४ घन्टामा १२ हजार सात सय ७० नमुनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा चार हजार तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यो संक्रमणदर ३४.२१ प्रतिशत हो । यस अवधिमा ६ हजार दुई सय पाँचजना निको भएका छन् भने एक सय नौजनाले ज्यान गुमाएका छन् ।
पछिल्लो साता दैनिक मृत्युको हुनेको संख्या औसत दुई सयको हाराहारी थियो । एक सातायता नयाँ संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । जसअनुसार एक लाख १५ हजारमा पुगेको सक्रिय संक्रमितको संख्या एक लाख नौ हजारमा झरेको छ । गत ९ जेठमा सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार पाँच सय ४७ थियो भने आइतबार यो संख्या एक लाख आठ हजार आठ सय ९७ मा झरेको छ । आइतबार एक हजार पाँच सय ४५ संक्रमितको आइसियू र चार सय सातजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
नयाँ पत्रिकाबाट साभार
तपाईंको प्रतिक्रिया