राष्ट्रिय सभा सदस्यमा काँग्रेसका पाण्डे विजयी
तुलसीपुर ।
लुम्बिनी प्रदेशको रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । आज भएको मतदानमा २९७ जनाले मतदान गरेका थिए । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो ।
२११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए । प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए ।
एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए ।
तपाईंको प्रतिक्रिया