वडा नम्वर ४ मा संक्रमितका लागी होल्डिङ सेन्टर
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा दुई वटा स्वास्थ्य संस्थामा कोरोना संक्रमित विरामीहरुका लागी होल्डिङ सेन्टर तयार पारिएको छ । वडा कार्यालयको बजेट व्यवस्थापन तथा पहलमा हलवार स्वास्थ्य चौकी खाद्रे र सामुदायिक स्वास्थ्य ईकाई केन्द्र रक्षाचौरमा कोरोना संक्रमित विरामीहरुको लागी अक्सिजन सहितको वेड तयार तथा व्यवस्थापन गरिएको वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले जानकारी दिनुभएको छ ।
स्वास्थ्य चौकी खाद्रेमा तिन वटा अक्सिजन सिलिण्डर सहित तिन वटा वेड र रक्षाचौरमा दुई वटा अक्सिजन सिलिण्डर सहित दुई वटा वेड गरी पाँच वटा वेडको व्यवस्थापन गरिएको उहाले जानकारी दिनुभयो । विशेषगरी कोरोना संक्रमित भएका गम्भिर बिरामीहरुलाई आपतकालिन सेवा प्रदान गरिने स्वास्थ्य चौकी खाद्रेका ईन्चार्ज डम्मर बिष्टले जानकारी दिनुभयो ।
संक्रमित विरामीहरुलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उद्धार गरी होल्डिङ सेन्टरमा राखेर अक्सिजनको व्यवस्थापन गरिने उहाले जानकारी दिनुभयो । तर स्वास्थ्य अझ बढि समस्या आएमा थप उपचारका लागी मेट्रो अस्पतालमा पठाईने गरी आफुहरुले वडामा होल्डिङ सेन्टरको व्यवस्थापन गरेको उहाले जानकारी दिनुभयो । आपतकालिन सेवा प्रवाहका लागी सम्पुर्ण स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन भएको छ ।
स्वास्थ्य सामाग्री व्यवस्थापन कार्यमा वडा अध्यक्ष सहित वडा सदस्यहरु प्रेम बहादुर डाँगी, जय बहादुर गिरी र स्वास्थ्यकर्मीहरु खटिएका थिए । यसले अबको दिनमा वडा भित्र जो सुकै कोरोना संक्रमित वेड र अक्सिजन नपाएर छटपटाउनु नपर्ने वडा अध्यक्ष रानाले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया