छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्ति आवेगमा आए

 जेठ २०, २०७८

रुपन्देही । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन समितिले अस्पताल प्रशासनको कमजोरी भएकोतर्फ इंगित गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ । प्रतिवेदनमा अस्पतालको सेवामा केही कमी भएको संकेत गरिएको छ ।

समिति गठन भएको ५ दिनपछि १७ गते साँझ बुझाएको प्रतिबेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्युपश्चात तत्कालै आएको आवेगको कारण हुन गएको निष्कर्ष निकालिएको जानकारी दिए ।

घटनालगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।

अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु¥याउन समितले सुझाव दिएको उल्लेख गर्दै प्रजिअ गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन पनि प्रतिवेदनमा भनिएको बताए । प्रतिवेदन आउनुअघि नै प्रहरीले मृतकका भाइहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शारीरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

तपाईंको प्रतिक्रिया