आज जातीय छुवाछुत उन्मूलन दिवस

 जेठ २१, २०७८

काठमाडौं ।

आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । २०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो। काेरोना महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि भर्चुअल माध्यमबाट यो दिवस मनाइँदै छ । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छन् ।

उनले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको पनि उल्लेख गरेकी छिन् । जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भन्दै राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आव्हान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता¸सद्‌भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

तपाईंको प्रतिक्रिया