लगातारको वर्षासँगै यी नदीमा बढ्दै छ बहाव
काठमाण्डाै ।
लगातारको वर्षासँगै देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । नारायणी, दूधकोशी र तमोर नदीमा पानीको सतह बढ्दै गएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ ।
यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । नारायणी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ ।
बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमलालगायतका नदी खोलामा बाढीको जोखिम भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।



तपाईंको प्रतिक्रिया