काे हुन् देउवाका सहयात्री चार मन्त्री ?

 असार ३०, २०७८

काठमाडौं । पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। प्रधानमन्त्रीको सपथ खाएकै दिन देउवाले आफ्नै पार्टी र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना गरी पाँच सदस्यीय मण्डल बनाएका हुन् । देउवासँगै चार जना मन्त्रीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार सपथ खाएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधामन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्त गरेका छन्। नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुषाललाई नियुक्त गरिएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाँण देउवाको विश्वासपात्र मानिन्छन्।

उनलाई उनलाई देउवाले महत्वपूर्ण मानिने गृहमन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री भइसकेका खाँण एमालेका नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा सिचाइँ मन्त्री बनेका थिए। अर्को वर्ष स्थानीय र प्रतिनिधिसभाको निर्वाचन गर्नैपर्ने दायित्व बोकेको देउवा नेतृत्वको सरकारले प्रशासन र प्रहरीको नेतृत्व गर्नुपर्ने जिम्मेवारी खाँणलाई सुम्पेका छन्। यदि देउवाले ३० दिनभित्र संसदबाट विश्वासको मत पाउन नसकेको खण्डमा सांसद स्वतः विघठन भएर ६ महिनाभित्र मध्यावधी निर्वाचन पनि गर्नुपर्ने जिम्मेवारी यसै सरकारलाई छ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका खाँण नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा रुपन्देही ३ मा एमालेका घनश्याम भुषाललाई पराजित गरेका खाँण देउवाको राजनीतिक यात्रामा नजिकबाट साथ दिइरहेका छन्।

यस्तै देउवाले कानुन मन्त्रीमा नियुक्त गरेका ज्ञानेन्द्रबहादुर कार्की यसअघि देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री भइसकेका छन्। कार्कीले अर्थमन्त्री छँदा बहुचर्चित एमसीसी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए। जलस्रोत मन्त्रीसमेत भइसकेका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनी गत प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित भएका हुन्।

देउवाले अर्थमन्त्रीमा नियुक्त गरेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा धेरै पटक मन्त्री बन्ने सौभाग्यमानी नेतामा पर्छन्। २०६४ सालयता निरन्तर निर्वाचन जित्ने शर्मा माओवादी सेनाका तत्कालीन डेपुटी कमाण्डर हुन्।

शर्माले शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। शर्मा ऊर्जा मन्त्री रहेकै बेला लोडसेडिङ अन्त्य भएपछि उनलाई सफल मन्त्रीको रुपमा लिने गरिन्छ।

माओवादी केन्द्रकै भागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी पम्फा भुषाल पनि यसअघि मन्त्री भइसकेकी छिन्। पहिलो संविधानसभा र गत संसदीय निर्वाचनमा ललितपुरबाट निर्वाचित भुषाल लोकतन्त्र प्राप्तिपछिको अन्तरिम सरकारमा महिला बालबालिका मन्त्री बनेकी थिइन्।

माओवादी केन्द्रको प्रवक्तासमेत रहेकी भुषाल भूमिगतकालमा ‘विद्युत’को नामले परिचित थिइन्। उनै विद्युतले देउवा नेतृत्वको सरकारमा ऊर्जा मन्त्रीको जिम्मेवारी पाएकी छिन्।

पाँच विपक्षी गठबनधनको समर्थनमा प्रधानमन्त्री बनेका देउवा नेतृत्वको सरकारमा नेकपा एमालेको माधव कुमार नेपाल समूहले सहभागी नहुने जनाइसकेको छ। यस्तै गठबन्धनको सहयात्री अर्को दल जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष पनि तत्काल सरकारमा सहभागी नहुने देखिएको छ।

राष्ट्रिय जनमोर्चाले पनि सरकारमा जानेकी नजाने भन्नेबारे निर्णय लिइसकेको छैन। यहि कारण मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही समय लाग्ने देखिन्छ। सरकारमा सहभागिता र शक्ति बाँडफाँटका विषयमा गठबन्धनमा थप सहमति जुट्नै बाँकी छ। देउवा यसअघि २०७४ जेठ २४ देखि फागुन ३ सम्म, २०६१ जेठ २१ देखि माघ १९ सम्म, २०५८ साउन ११ देखि २०५९ असोज १८ सम्म तथा २०५२ भदौ २७ देखि २०५३ फागुन २९ सम्म प्रधानमन्त्री भएका थिए। उनी २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। देउवा २०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन्।

@Thahakhabr

तपाईंको प्रतिक्रिया