दाङ निषेधाज्ञा: बजार बेलुका ८ बजेसम्म खुल्ने
तुलसीपुर ।
दाङमा केही परिवर्तन गर्दै निषेधाज्ञाको समय अनिश्चितकालागि जारी गरिएको छ । आजबाट थप गरिएको निषेधाज्ञामा पसलहरु खोल्ने समय लम्बाइएको छ । यस अघि विहान ६ देखि साँझ ६ बजेसम्म खुल्दै आएका पसलहरु अब भने साँझको ८ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक तथा निजी सवारी सधान पनि विहान ६ बजेदेखि साँझको ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । यस अघि साँझको ६ बजेसम्म सवारी सधान सञ्चालन हुँदै आएका थिए ।
होटेल, रेष्टुरेन्ट पनि साँझ ८ बजेसम्म खोल्न पाइने छ तर तयारी खानाहरु सेवाग्राहीले लगरे जानु पर्ने छ । यस अघि जारी गरिएको निषेधाज्ञाको समय आज साँझ ६ बजे सकिदै थियो । अब अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रकारको भिडभाड हुने गतिविधि गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार अब सभा सम्मेलन, गोष्ठी, तालिम, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, संग्राहलय, पुस्तकालय खोल्न पाइने छैन ।
त्यस्तै शैक्षिक संस्थाहरु, ट्युसन सेन्टरहरु खोल्न पाइने छैन भने कुनै पनि महोत्सव, सभा, जुलुस गर्न पाइने छैन ।
तपाईंको प्रतिक्रिया