दाङमा रगतको माग बढ्दो,दाता भने घट्दै

 साउन ११, २०७८

तुलसीपुर । दाङमा रगतको माग वर्षेनी बढ्दै गएको छ । नेपाल रेडक्रस सोसाईटी अन्तर्गत दाङमा घोराही, तुलसीपुर र लमहीमा अहिले रक्तसञ्चार केन्द्र सञ्चालनमा छन । रक्तसञ्चार केन्द्र घोराहीका अनुसार आर्थिक वर्ष ०७६/०७७ को तुलनामा गएको आर्थिक वर्ष ०७७/०७८ मा दुई हजार युनिट रगत बढी खपत भएको छ । जिल्लामा ४ हजार ४५ युनिट रगत खपत भएको छ भने अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा करिब ३ हजार ८ सय युनिट रगत खपत भएको रक्तसञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानले बताउनुभएको छ ।

जिल्लामा मागभन्दा केही युनिटमात्रै रगत बढी संकलन भएको छ । गत वर्ष जिल्लामा ४ हजार ७४ युनिट रगत संकलन भएको छ । जिल्लाका तीन ठाउँबाट रगत संकलन हुँदै आएकोमा सबैभन्दा धेरै घोराहीबाट २५ सय ४६, तुलसीपुरबाट ११ सय ३८ र लमहीबाट ३ सय ९० युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका इन्चार्ज न्यौपानेले जानकारी बताए । यद्यपी नियमित रूपमा रगतदान गर्ने दाताहरूको संख्या भने कम हुँदै गएको छ । स्वयम्सेवक, संघसंस्था, अभियानहरूले मात्रै अहिले रगतको मागलाई पूर्ति गरेको छ । तर स्वयम्सेवी तरिकाले नियमित रगतदान गर्नेहरू पनि पछि हट्दै गएका छन् । जित सागर जिएमले लेखेको यो समाचार प्रदेश टुडे दैनिकले छापेको छ ।

तपाईंको प्रतिक्रिया