हत्या आरोपमा पक्राउ परेका नाबालकमाथि अनुसन्धान हुदै

 साउन १५, २०७८


तुलसीपुर ।
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या आरोपमा पक्राउ परेका २ नाबालकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ । बिहिबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले समय माग गरे अनुसार अदालतले हत्या आरोपमा पक्राउ परेका नाबालक दुई दाजु भाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाँस हाल्न गोठ गएकी मनकलाको गएको सोमबार साँझ शव फेला परेको थियो । घटना स्थल र शवको अवस्था हेर्दा मनकलाको हत्या भएको खुलेको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनकलाका जेठाजुका २ नाबालक छोरालाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरुले हत्या गरेको स्विकारेको र घटनामा प्रयोग भएको खुर्पा र मनकलाले लगाएका गर–गहना नाबालकको घरबाट बरामद गरिएको प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । उनिहरुले व्यक्तिगत इगोका कारण हत्या गरेको स्विकार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

तपाईंको प्रतिक्रिया