मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल आज

काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक दिउँसो १ बजे प्रदेशसभा भवन बुटबलमा बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।
अविश्वासको प्रस्तावपछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ८ मुख्यमन्त्री निवासमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको उनले बताए । दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने चौधरीको भनाइ छ ।
विपक्षी गठबन्धनले प्रदेशसभा सदस्यलाई होटलमै राखेका छन् । सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखेका प्रदेशसभा सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको ‘लुम्बिनी बुद्ध गार्डेन’मा विपक्षी गठबन्धनका ४१ सदस्यलाई सारिएको छ ।
तपाईंको प्रतिक्रिया