गौरा पर्व आजदेखि सुरु

तुलसीपुर । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।
त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।
गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहुँ केराउ गहत मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धुन्छन । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।
तपाईंको प्रतिक्रिया