महाधिवेशनमा केन्द्रित हुने रामचन्द्र पौडेल समूहको निर्णय, जिल्ला सभापतिको अनशन आज तोडिने

 भदौ १२, २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ ।क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् । शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको थियो । सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने निर्णय गरेको हो । ‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुंग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएको छ’ नेता सिंहले भने, ‘रिले अनशनमा बसिरहेका जिल्ला सभापतिहरुको माग पूरा गर्ने वातावरण बनेको छ । उहाँलाई अनशन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अनुरोध गर्ने कुरा भएको छ ।’

उनले निर्वाचन समितिले सल्लाह गरेर काम गरिहेको उल्लेख गर्दै तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताप्रति आफूहरु सचेत रहेको बताए । ‘महाधिवेशन समयमै गर्नुपर्ने बाध्यता छ । भदौ १८ को अधिवेशन देशभरका सबै वडामा गर्ने निर्णय भएको छ,’ नेता सिंहले भने, ‘अब सबै महाधिवेशनमा केन्द्रीत गर्छौं । जिल्ला सभापतिहरुको अनशन टुंग्याउने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । सिटौला, रिजाल र लेखकले पार्टी कार्यालय सानेपा पुगेर जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने बताइएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिनदेखि धनुषा, रौतहट, सर्लाहीका नेता कार्यकर्ताहरु धर्नामा छन् ।

तपाईंको प्रतिक्रिया