अष्टलक्ष्मीलाई हटाउन विशेष अधिवेशनको तयार
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारमा विश्वासको मत नपुग्ने देखेपछि प्रदेशसभाको जारी आठौँ अधिवेशन नै अन्त्य गरेकी छिन् । मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै सरकार अल्पमतमा परेपछि उनले संसद् छलेर सरकार टिकाउन संसद्को अधिवेशन अन्त्य गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले गत शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नेपालको संविधान को धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेकी छिन् । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरे लगत्तै करिब ३५ दिनसम्म स्थगित रहेको प्रदेशसभा बैठक बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले केही प्रदेश ऐन र प्रदेशसभाको नियमावली संशोधनका लागि गत भदौ १ र २ गतेका लागि आह्वान गरेका थिए । उक्त बैठकमा शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राखेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोही दिन नै बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो ।
नेकपा एमालेको लामो समयदेखिको विवादका बीच गत भदौ २ गते एकाएक बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई दलको नेता बनाउन सिफरिस गरेका थिए । उनकै सिफारिसमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रूपमा शाक्यलाई दलको नेता र बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो ।
तपाईंको प्रतिक्रिया