आफू एकताबद्ध एमालेको पक्षमा: नेपाल

 साउन २१, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै आफू एकताबद्ध एमालेको पक्षमा रहेको बताएका छन् । आफूनिकट केन्द्रीय सस्यहरुको भेलालाई सम्बोधन गर्दै नेपालले केही विषयमा सहमति भए पनि केहीमा वार्ता जारी रहेको बताएका हुन् ।

नेपालको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरे । बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका थिए । नेपालले बोलेपछि वार्ता कार्यदलमा माधव नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।

रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका थिए । केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए । उनले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिएका थिए ।

तपाईंको प्रतिक्रिया