कपुरकोटमा एमालेको अगुवा कार्यकर्ता भेला

सल्यान । सल्यानको कपुरकोटमा नेकपा एमालेको पालिका कमिटी बैठक तथा अगुवा कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ । बैठकले यहि भदौ मसान्तसम्म ६ वटै वडामा पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय सहित नविकरणका लागि हरेक वडामा टोलि समेत गठन गरेको छ । नेकपा एमाले कपुरकोटका संयोजक घनश्याम शर्माको अध्यक्षता र प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टीलाई सुदृढ र एकताबद्ध तरिकाले अगाडी बढाउने निर्णय गरेको एमाले कपुरकोट गाउँपालिका कमिटीले जनाएको छ ।
बैठकमा आफ्नो भनाई राख्दै एमाले नेता सेनले पार्टी विधि बिधान प्रणाली अनुसार संचालन हुने भएकोले त्यसै अनुसार पार्टी नेता कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए । कपुरकोट गाउँपालिकाका प्रमुख समेत रहेका सेनले कम्युनिस्ट कार्यकर्तामा बर्गिय चिन्तन हुनु पर्ने बताउदै पार्टी बिभाजनको पक्षमा नलागेर पार्टी एकताको लागि दृढताको साथ उभिन सबैमा अनुरोध गरे ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य टिकाराम वोहोरा, युवा संघका केन्द्रीय सदस्य द्रोण केसी, युवा संघका सल्यान जिल्ला संयोजक रुपक बुढा, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष डिल बहादुर नेपाली, संगठनकै निवर्तमान अध्यक्ष पदम खड्का लगाएतले गाउँ वस्तीको विकास र समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेकोले नेकपा एमालेमा गोलबन्द हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमको सहजिकरण एमाले कपुरकोटका सह संयोजक ओम बहादुर बुढाले गरेका थिए । बैठकले जनवर्गिय संगठन निर्माणलाई तिब्रता दिने निर्णय गरेको बुढाले बताए । यस्तै बैठकले कपुरकोट गाउँपालिकाभित्र विभिन्न कारणले नेकपा एमालेका सदस्यहरु तथा शुभचिन्तकहरुको मृत्यु भएकोमा शोक प्रस्ताव पनि पारित गरेको छ ।
तपाईंको प्रतिक्रिया