व्यवस्था परिवर्तन भएपनि राजनीतिक अस्थिरता उस्तै भएकोमा चिन्ता ब्यक्त गर्दै – मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।
वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् । जननिर्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उनको भनाइ छ । व्यवस्था परिवर्तन सँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको उनले बताइन् ।
राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनु पर्ने उनले बताइन् । उनले संघीयता पछि निर्माण भएका तीन तहका सरकारका बीच समन्वयको अभाव भएको बताइन् ।संविधानमा नै तीन तहका कारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र स्थायित्व हुन नसकेको उनको गुनासो छ । तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको उनले बताइन् ।
तपाईंको प्रतिक्रिया