जनप्रतिनिधिले दल रोज्ने समय आज साझ ५ बजे सकिदै

 भदौ २२, २०७८

काठमाडौ । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज ५ बजे सकिँदै छ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको समय दिएको थियो ।

गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिन लागेको हो । गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । दुवै दलको निवेदनअनुसार ९ भदौमा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने दुवै दलका नेताहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया