सल्यान बस दुर्घटना: मृतक १२ जनको सनाखत
दाङ । सल्यान बस दुर्घटनाका मृतक १२ जना सबैको सनाखत भएको छ । दुर्घउटनामा परि दाङका सात जना र सल्यानका पाँच जनाको मृत्यु भएको छ ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ८ की ३५ बर्षीया साबित्रा केसी, शान्तिनगर ४ कोरबाङका ५ बर्षीय सुरज वली,तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने ५३ बर्षीया पर्भा चलाउने, बबई गाउँपालिका वडा नं. ४ की ६० बर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० बर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरकी ६५ बर्षीया इन्द्रा अधिकारी, घोराही १० की ३६ बर्षीया रुपा केसीको बस दुर्घटनामा परि मृत्यु भएको छ ।
सोही दुर्घटनामा परि सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. १ काभ्रा बस्ने २४ बर्षीया मिना शाही, त्रिबेणी ४ की ९ बर्षीया सरिता बोहोरा, क्षत्रेश्वरी गाउँपालिका वडा नं. २ का २९ बर्षीय तिलक वली, शारदा नगरपालिका वडा नं. २ की ६१ बर्षीया मिना डाँगी र शारदा ३ की ६६ बर्षीया लिला बुढाथोकीको मृत्यु भएको छ ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले दुर्घटनामा परि दश महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिए ।
सात जना घाइतेलाई थप उपचारको लागि बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । केही घाइतेलाई हेलिकोप्टर मार्फत उपचारका लागि बाहिर पठाइएको छ । त्यस्तै थप ५ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ ।
बसमा ३० यात्रु सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले तीब्र गतिलाई दुर्घटनाको कारण मानेको छ । चालक अहिले सम्म सम्पर्क बिहिन छन् ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेपछि कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो ।
तपाईंको प्रतिक्रिया