बालबालिकाका लागि एक करोड खोप खरिद गर्ने
काठमाडौं। बालबालिकाका लागि एक करोड खोप खरिद गरिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई खोप खरिद गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो ।सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । यो फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
तपाईंको प्रतिक्रिया