हेटौंडामा बस–ट्रक दुर्घटना दुई जना मृत्यु १८ जना घाइते
काठमाडौं । हेटौंडा–११ नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका २ मध्ये १ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा यात्रुबाहक बस चालक चन्द्रागिरी नगरपालिका–२ काठमाडौंका २९ वर्षीय सरोज परियार रहेका प्रहरीले जनाएको छ ।
गएराति १२ स् ३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर घाइते भएका परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु भएका दुई जनामध्ये अर्का एक जनाको सनाखत भने हुन सकेको छैन । ना ७ ख ८७६ नम्वरको यात्रुबाहक बसका चालक परियार जनकपुरबाट यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३० १ ख ५०३५ नम्वरको ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीसँगै आर्क एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते मध्ये बसका सहचालक जनक नन्दनी–६ बस्ने वर्ष १९ को शुवम झाको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । घाइते झाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । ट्रकका चालक बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर विक सामान्य सामान्य घाइते भएको र उनलाई उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया