रुपन्देहीमा कांग्रेसका कार्यकर्ताबीच कुटाकुट

 मङि्सर ०४, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ क को मतगणना चलिरहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पक्षका कार्यकर्ताबीच कुटाकुट भएको छ।

मत गणनामा पौडेलपक्षले अग्रता लिएपछि संस्थापनपक्षले शुक्रबार राति पौडेल पक्षका कार्यकर्तामाथि आक्रमण गरेको हो। आक्रमणबाट पौडेल पक्षका पाँचजना घाइते भएका छन्। क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्तसहित पाँचजना घाइते भएका हुन्। पन्तको लुम्बिनी प्रादेशिक अस्पताल र अन्यको निजी अस्पतालमा उपचार भइरहेको रुपन्देही कांग्रेसले जनाएको छ।

प्रदेश ३ ’क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरणप्रसाद श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उम्मेदवार छन्। निर्वाचनपछि साँझदेखि सिद्धार्थ नगरपालिकामा मतगणना सुरु भएको थियो।सभापतिमा पौडेल पक्षले अग्रता लिएपछि राति साढे १ बजे देउवा पक्षका कार्यकर्ता पौडेल समूहका कार्यकर्तामाथि आक्रमणमा उत्रिएका हुन्। झडपपछि अहिले त्यहाँ मतगणना रोकिएको छ।

तपाईंको प्रतिक्रिया