पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई विद्यार्थी संगठनहरुले बुझाए ज्ञापनपत्र
काठमाडौ । संयुक्त विद्यार्थी संगठनका नेताले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्। मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने बताए। सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने आश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष सिंहले जानकारी दिइन्। ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही, मोहन वैद्यनिकटअखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन्।।
तपाईंको प्रतिक्रिया