सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई दियो यस्तो सुझाव
काठमाण्डाै । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।
गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएशनका अध्यक्षसहितका पदाधिकारीले हिजो सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । कोरोना सङ्क्रमणपछि प्रधानन्यायाधीश जबरा बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।
उहाँले कायममुकायमको जिम्मेवारी तोक्नुभएको छैन । सर्वोच्च अदालतमा हिजैदेखि गोलाप्रथाबाट इजलास तोकिए पनि इजलासको काम भने हुन सकेको छैन ।
तपाईंको प्रतिक्रिया