कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

 पुष ०१, २०७८

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

आज बिहीवार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी हुनुभएको हो । यस्तै डा। प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, डा। मिनेन्द्र रिजालले आठ सय नौ र डा। राजाराम कार्कीले एक सय ६ मत प्राप्त गर्नुभएको छ ।

गएको सोमवार भएको मतदानमा कुल चार हजार ६ सय ८२ मत खसेको थियो । जसमध्ये ४३ मत बदर भएको हो ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा महत र पौडेल, डा। शेखर कोइराला समूहबाट रिजाल र थापा, प्रकाशमान सिंहको समूहबाट शर्मा, विमलेन्द्र निधिको समूहबाट कार्की उम्मेदवार हुनुहुन्थ्यो ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनुभएको हो । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

तपाईंको प्रतिक्रिया