माओवादी प्रदेश २ को बन्दसत्र भोलि बिहान ११ बजेसम्मका लागि स्थगित
दाङ । नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो । अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।
प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले सो समस्या समाधान नहुन्जेलसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उहाँले बताउनु भयो । यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समिति बनाउने गृहकार्यमा जुटेको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने छ भने प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार र विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको उहाँको भनाई छ । भोलि हुने बन्दसत्रले २४१ सदस्यीय समिति चयन गर्नेछन् भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।
तपाईंको प्रतिक्रिया