राज्यमन्त्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिको निस्कर्ष

तुलसीपुर । कुटपिटको घटनामा संलग्न लुम्बिनीका निवर्तमान राज्यमन्त्री बिमला कुमारी खत्री वलीले पदीय मर्यादा विपरीत कमजोरी गरेको ठहर गरिएको छ। असार १ गते आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिले शनिबार मुख्यमन्त्री कुल प्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै राज्यमन्त्री जस्तो पदमा रहँदा बिमला कुमारी वलीले पदीय मर्यादा विपरीत काम गरेर कमजोरी गरेको ठहर गरेको हो ।
जेठ ३१ गते दाङ तुल्सिपुरस्थित माओवादी कार्यकर्ता एकराज बस्नेतकी श्रीमती मीना र छोरीमाथि अभद्र व्यवहार गरेपछि वली विवादित बनेकी थिइन् । प्रतिवेदनमा राज्यमन्त्री वलीसँग एकराज बस्नेतको सापटीको विषयमा विवाद सिर्जना भएको उल्लेख गरिएको छ। प्रतिवेदनले राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी भएको औल्याउँदै त्यो कार्य क्षमायाचना गर्न उपयुक्त देखिएको बताइएको छ।
शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई उक्त प्रतिवेदन बुझाउँदै संयोजक एंव आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले घटना सापटी रकम (लेनदेन) ले उत्पन्न गराएको देखिएको बताए। उनका अनुसार सांसद वलीसँग एकराजले ६ लाख ३० हजार रुपैयाँ सापटी लिएको देखिएको छ ।
प्रतिवेदनले सांसद वलीलाई पदीय मर्यादा विपरीत काम भएकाले कडा चेतावनीसहित आवश्यक कदमका लागि मुख्यमन्त्रीलाई सिफारिस गर्न सुझाव दिएको छ। प्रतिवेदनमा एउटै राजनीतिक व्यक्तिमा आबद्ध हुँदा एकराज बस्नेत र राज्यमन्त्री वलीबीच विभिन्न कार्यक्रममा सहकार्यको सिलसिलामा आपसी रकम लेनदेन भएको र घटना आर्थिक लेनदेनबाट भएको स्पष्ट पारेको छ। तत्काकालीन नेकपाबाट विजयी भएकी वलीले एमाले–माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन्।
सत्ता राजनीतिको खिचातानीकै सिलसिलामा वली गठबन्धन सरकारमा राज्यमन्त्री बनेकी हुन्। दाङ तुल्सिपुरमा सर्वसाधरणको घरमा पुगेर अभद्र व्यवहार गरेपछि विवादित हुँदा सरकारमाथि नैतिक संकट उत्पन्न भएको थियो।
छानबिन समितिले कमजोरी भेट्टाएपछि मुख्यमन्त्री केसीकै योजनामा राजीनामा गराउन लगाइएको थियो। वलीले १५ गते (बुधबार) राजीनामा दिएकी थिइन्। तर, उनले सञ्चारकर्मीलाई भने आफूले राजीनामा नदिएको दाबी गरेकी छन् ।
तपाईंको प्रतिक्रिया