आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्न नगरप्रमुखकाे आग्रह

 पुष १५, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले गुरुङ् जातिको नयाँ वर्ष तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नगप्रमुख खड्काले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा सम्पूर्ण नगरवासी, तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ्होसार पर्व मनाउँदै छन् । यस पर्वको अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परालाई जीवन्त राख्न नगरप्रमुख खड्काले आग्रह गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास नगरप्रमुख खड्काले लिनुभएको छ । नगरप्रमुख खड्काले गुरुङ समुदायको यस पर्वले सम्पूर्ण नगरवासीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया