दैलेखमा ट्रक पल्टिँदा चालकसहित तीन जनाको ज्यान गयो

 चैत ०८, २०७९

दैलेख । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ ।

भे १ क २२०१ नम्बरको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेको अस्थायी चौकी तालपोखरीको टोलीले दिएको जानकारी अनुसार ज्यान जानेमा बाँके जिल्ला घर भएका चालक २९ वर्षीय कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङ जिल्ला घर भएका दुई जना अन्दाजी १८ वर्षीय बिष्णु चौधरी र २७ वर्षका लछिराम चौधरी छन् ।

ट्रक तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भइ माथिल्लो सडकबाट चिप्लिएर करिब २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ओरालो सकिएर मोडमै आइपुग्दा चालकले ब्रेक लागेन भनेपछि सहचालक सल्यानको कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाइले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

मृतकहरु नेपालगगञ्जको मनकामना ग्यास कम्पनीमा कार्यरत कामदारहरु भएको बताइएको छ ।

दुर्घटनाको कारण, घटनास्थलको अवस्था अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

दैलेख–सुर्खेत ६५ किलोमीटर दूरीमध्ये तालपोखरी ठीक आधा दूरी अर्थात् सदरमुकामबाट ३२ किलोमीटर टाढा छ । दैलेखबाट नेपालगञ्जको दूरी एक सय ७१ किलोमीटर छ ।

प्रशासनिक कामले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउजाउ बढी भए पनि दैलेखका व्यापारीहरुले सबैजसो मालसामान नेपालगञ्जबाट ल्याउने गर्छन् ।

तपाईंको प्रतिक्रिया