विपतमा तत्काल उद्दारकाे लागि तुलसीपुरमा वाकीटकी

 चैत २९, २०७९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच पुर्याउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ । विपद्को समयमा सञ्चार पहुँच टुटेको अवस्थामा सहजै सञ्चार सुविधा पु¥याएर तत्कालै राहत उद्दारका लागि वाकीटकी वितरण गरेको हो ।

प्रत्येक वाकीटकीमा वडाअनुसार कल साइनको व्यवस्था गरिएको छ । तुलसीपुर आपतकालीन सञ्चालन केन्द्र, दमकल रूप र नगरप्रमुख सचिवालयमा एक एक वटा वाकीटकी राखिएको छ । तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष र सचिवहरूलाई प्रशिक्षण गरेर वाकीटकी वितरण गरेको हो ।

विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले  बाढी पहिरो, आगलागी, भूकम्प जस्ता विपद्को तत्काल उद्दार र राहतका लागि वाकीटकी वितरण गरिएको बताउनुभयो । इलाका प्रहरी कार्यालयका खिम विष्टले इन्टरनेट र नेटवर्कका समस्या भएको अवस्थामा जोखिमबाट तत्काल राहतका लागि वाकीटकीबाट सहजरूपमा सूचना आदान प्रदान गर्न सकिने बताउनुभयो ।

नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा बाढी पहिरो र आगलागीको विपद्को सामना गर्दै आएको अवस्थामा वाकीटकीबाट सम्बन्धित निकाय र क्षेत्रमा सूचनाको पहुँच पुग्ने बताउनुभयो । उहाँले प्रत्येक वडामा राहत उद्दारका लागि तत्कालै सम्पन्न गर्नका लागि प्रभावकारी रहने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले आपत्कालीन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।

पश्चिम दाङका चार वटा पालिका शान्तिनगर, बबई, दंगीशरण र तुलसीपुरमध्ये तुलसीपुर उपमहानगरपालिकामा मात्रै दमकल सञ्चालनमा रहेको छ ।

 

तपाईंको प्रतिक्रिया