कनिका छरे जस्तो गरी बजेट नछर्ने अर्थकाे तयारी

तुलसीपुर । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताएका हुन्।

उनले आफूलाई बजेट छर्ने दबाब रहेको भएपनि आफूले त्यस्तो नगर्ने संकेत गरे। उनले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने जिकिर गरे। उनले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताए।
अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगत भित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको उल्लेख गरे। उनले जनताका आवश्यकताहरु थुप्रै रहेको बताउँदै अहिले सरकारलाई बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै भएको भन्दै साधन र स्रोतको सिमिततामा बस्नुपर्ने अवस्था रहेको प्रष्ट पारे।
उनले सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गरे। जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वभाविक भएपनि स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको उनले सुनाए।
तपाईंको प्रतिक्रिया