गुजरात आईपीएलको प्लेअफमा

 जेठ ०२, २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएलमा) मा गुजरात टाइटन्स प्लेअफमा पुगेको छ।​ गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै गुजरातले प्लेअफ यात्रा सुनिश्चित गरेको हो ।​ गुजरातले दिएको १८९ रनको लक्ष्य पछाएको सनराइजर्स २० ओभरमा ९ विकेट गुमाउदै १५४ रन मात्र बनायो। ​ हैदराबादका हेनरिक क्लासेनले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन्। भुवनेश्वर कुमारले २७, मयन्क मार्कन्डेले १८ र कप्तान आइदेन मार्करमले १० रन जोडे।

गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान चार विकेट लिए। यश दयालले एक विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले शुभमन गिलको १०१ रनको शतकीय पारीको सहयोगले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन बनाएको थियो । साइ सुदर्शनले ४७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।​

हैदराबादका भुवनेश्वर कुमारले पाँच विकेट लिएका थिए। मार्को जन्सन, फजलहक फारुकी र टी नटराजनले समान एक विकेट लिए । जितपछि गुजरातको १३ खेलमा १८ अंक भएको छ र प्लेअफका लागि छनौट भएको छ । गुजरात यस सिजनमा प्लेअफमा पुग्ने पहिलो टिम बनेको हो।​ हैदरावादको यो हारपछि प्लेअफको सम्भावना सम्मप्त भएको छ। सनराइजर्सको १२ खेलमा ८ अंक रहेको छ ।

तपाईंको प्रतिक्रिया