इन्धन आयात १६ प्रतिशतले घट्यो

 जेठ ११, २०८०

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार  रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया