महिनावारी हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

 साउन २५, २०८०

महिनावारी भएका वेला गोठमा सुतेकी किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ फ्याउली गाउँकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । स्थानीयका अनुसार महिनावारी भएको चौथो दिन मंगलबार राति उनलाई गोठमा सर्पले पाखुरामा टोकेको थियो । सर्पले टोकेलगत्तै चन्दले चिच्याउँदै छिमेकी काका नाता पर्ने राजबहादुर चन्दलाई जानकारी गराएकी थिइन् । त्यसपछि उपचार गर्न छिमेकी गाउँमा बस्ने देवीराम सार्की र एकजना अर्का व्यक्तिलाई बोलाएर ल्याइयो ।

सार्की घरेलु उपचार गरेर सर्पले टोकेको निको पार्ने ‘वैद्य’ भनेर चिनिन्छन् । प्रत्यक्षदर्शीका अनुसार अनिताको उपचार गर्न आएका सार्कीले सर्पले टोकेको घाउलाई ब्लेडले चिरेर ठूलो पार्दै रगत चुसेर निकाल्ने प्रयास गरेका थिए । तर, किशोरीको होस नफिरेको र सर्पले टोकेको आधा घन्टामै मृत्यु भएको काका राजबहादुर चन्दले बताए ।

अनितालाई मंगलबार राति १२ बजेतिर गोठमा सर्पले टोकेको थियो ।

तपाईंको प्रतिक्रिया