दुई कैदीको हत्या भएको भन्दै परिवारले शव बुझ्न मानेनन्

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई जना कैदीका आफन्तले शव बुझेका छैनन् । कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका –७ का २८ वर्षीय आकास बलामीको बुधबार बिहान उचारका क्रमम मृत्यु भएको थियो ।
कैदीबन्दी तोलाङ्गी र वलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन्। तर उनीहरुको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न नमानेका हुन् । भाग्नलाई राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरु कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ ।
प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले पनि प्रहरीले कुटेर कैदीलाई मारेको बताइरहेका छन् । प्रहरीविरुद्ध कारागारभित्रका अन्य कैदी बन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। सुरक्षा घेराभित्र कारागारमा बसेका आफूहरू प्रहरीबाटै असुरक्षित बन्नु परेको गुनासो उनीहरूको छ । दोषी प्रहरी माथि कारबाही हुनुपर्ने माग राखेर कैदीबन्दीले सुरक्षाकर्मीमाथि लक्षित गर्दै कारागार भित्रबाट ढुंगा प्रहार गरेका थिए। सुरक्षामा खटिएका प्रहरीमाथि नै कैदी मारेको आरोप लागेपछि र कारागारभित्र कैदीबन्दीबीच झडप भएको पुष्टि हुन नसकेपछि शंकास्पद घटनाले अर्को रूप लिएको छ। कारागारको शौचालयको रड काटेर भाग्न खोजेको भन्दै सादा पोशाकमा चार/पाँचजनाको संख्यामा रहेका प्रहरीले दुईजनालाई कारागारको कम्पाउण्डभित्रै बुधबार राति निर्घात कुटपिट गरेको अन्य कैदीबन्दीको आरोप छ ।
तपाईंको प्रतिक्रिया