प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । यसैगरी, प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ ।
तपाईंको प्रतिक्रिया