हरितालिका तीज पर्व  मनाइँदै

 असोज ०१, २०८०

तुलसीपुर । नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज  मनाइँदै छ। हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ।

अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि शक्ति) ले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ। बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन्। तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन्। अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ। सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ।

यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ। तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेअगावै दर खाने चलन छ ।

तपाईंको प्रतिक्रिया