नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी
रुकुम । जाजरकोटको भेरी नगरपालिकाका नवराज बिक लगायत ६ जनाको जघन्य हत्या सम्बन्धी मुद्दामा आज पनि रुकुम जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ । रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हिजोदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज पनि बहस भइरहेको हो ।
हिजो सरकारी वकिल तथा पीडित पक्षका ९ जना कानुन व्यवसायीले बहस गरेका थिए । आज पीडित (वादी) पक्षका कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादीतर्फको बहस हुनेछ । भोलिसम्ममा उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने र केही दिनमा फैसला आउने अदालतले जनाएको छ।
२०७८ जेठ १० गते मल्ल थरकी आफ्नी प्रेमिकासँग विवाहका लागि साथीहरू लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका नवराजसहित ६ जनाको केटी पक्षबाट हत्या भएको थियो । केटी पक्षले दलितले मल्लसँग विवाह गर्न लागेको भन्दै केटीका परिवारसहित सोतीका स्थानीयले उनीहरूलाई लखेटेर हत्या गरेका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा १२ जना घाइते भएका थिए।
उक्त घटनामा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
तपाईंको प्रतिक्रिया