विप्लव र प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी जारी

 मङि्सर १८, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित विरुद्ध पक्राउ पर्जी जारी भएको छ । राज्यविरुद्धको कसुरमा ४ वर्षअघि दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले सोमबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरेको छ । नेकपाकै उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामा(प्रज्वल) र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन भनिएको छ । म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि उल्लेख छ । २०७६ साल असोज ९ मा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो । त्यसैअनुसार जिल्ला अदालतले सोमबार सूचना निकालेको हो ।

तपाईंको प्रतिक्रिया